भदौ २२ गते तीन जिल्लामा सार्वजनिक विदा दिने बागमती प्रदेश सरकारको निर्णय

मकवानपुर - बागमती प्रदेश सरकारले यहि भदौ २२ गते प्रदेशको तीन जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
चेपाङ समुदायले मनाउँदै आएको न्वागी पर्वका अवसरमा प्रदेशको मकवानपुर, धादिङ र चितवन जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको प्रदेश सकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

यसैगरी, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं बूढानीलकण्ठ नगरपालिका–५ निवासी कृष्णकुमारी बस्नेतलाई प्रदेश नीति तथा योजना आयोगको सदस्य मनोनीत गरेको छ ।

प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि २०८० स्वीकृत भएको छ । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिफारिस गरेको संगठन संरचना र दरबन्दी सहितको सङ्क्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयले सिफारिस गरेको स्रोत सुनिश्चितता गर्ने तथा आयोजना सम्झौताका लागि अख्तियारी प्रदान गर्नेसमेत निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिए।