सुन प्रकरणः १७ आरोपीलाई विभागबाट सिआइबीको हिरासतमा ल्याइयो

काठमाडौँ - सुन तस्करी प्रकरणमा पक्राउ परेका १७ जना आरोपीहरूलाई आज साँझ राजस्व अनुसन्धान विभागबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को हिरासतमा ल्याइएको छ ।

राजस्व अनुसन्धान विभागबाट थप मिसिल अध्ययन र अनुसन्धानका गर्न भन्दै पत्र आएसँगै सबै अनुसन्धानको मिसिल र आरोपीहरूलाई पनि आज साँझ सिआइबीमा ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए।

“आज साँझ आरोपीसहित मिसिलहरू आइपुगेको छ, अब भोलि सोमबार अनुसन्धान अधिकृत तोकेर मिसिलको अध्ययन तथा थप अनुसन्धान अघि बढ्छ”, उनले भने ।

यसअघि विहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिन निर्देशन दिएका थिए । उनको निर्देशन लगत्तै आवश्यक प्रक्रिया पुर्याएर थप अनुसन्धानको जिम्मा सिआइबीलाई हस्तान्तरण गरिएको हो ।

उक्त प्रकरणमा अब सिआइबीले आर्थिकलगायत सङ्गठित र अन्तरदेशीय अपराधको सन्दर्भमा पनि अनुसन्धान थाल्नेछ ।