देशैभर गए रातिदेखि नै ठूलो वर्षा, भोलिसम्मै पानी पर्ने 

काठमाडौँ - देशका विभिन्न स्थानमा गए रातिदेखि वर्षा भइरहेको छ । केही स्थानमा भारी वर्षा समेत भइरहेको छ । देशभर साधारणतया बदली रहँदा कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ ।

झापा, मोरङ, सुनसरी, सप्तरी र मोरङका केही स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज ९मंगलबार० दिउँसो देशभर साधारणतया बदली रहने छ । सात वटै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । 

कोशी, मधेस, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । विभागले राति देशभर साधारणतया बदली रहने जनाएको छ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

सात वटै प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै अति भारी वर्षाको सम्भावना छ । वागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा माथि वर्षा भयो भने त्यसलाई अति भारी वर्षा भनिन्छ । १० मिलिमिटरसम्मको वर्षालाई सामान्य वर्षा, १० देखि ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम वर्षा भनिन्छ । 

५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी वर्षा र त्यसमाथिको वर्षालाई अति भारी वर्षा भन्ने गरिएको विभागले जनाएको छ । यसैबीच, देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ । मकवानपुर, झापा, सप्तरी, मोरङ, सुनसरीका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ । मकवानपुरको बकैया नदी जुरेलीबजार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास पुगेको छ । जलसतह बढ्दो क्रममा रहेको छ ।