सिमलताल घटना : अध्ययन कार्यदलले आज प्रतिवेदन बुझाउँदै

काठमाडौँ - चितवनको सिमलताल घटनासम्बन्धमा गठित अध्ययन कार्यदलले आज अध्ययन प्रतिवेदन बुझाउँदै छ । गृह मन्त्रालयका सहसचिव छवि रिजाल संयोजक रहेको उक्त कार्यदलले आज दिउँसो साढे १ बजे अध्ययन प्रतिवेदन बुझाउने भएको हो ।

गत असार २८ गते बिहान ३ः३० बजे चितवनको सिमलताल नजिकैको सिँदुरेमा लेदोले काठमाडौँबाट गौर गइरहेको र वीरगञ्जबाट काठमाडौँ आइरहेको दुईवटा यात्रुबाहक बस त्रिशूलीमा खसालेको थियो ।

बसमा ६५ जना यात्रु सवार थिए । उक्त घटनामा तीन जना यात्रु बाँचेका थिए । बाँकी यात्रु बेपत्ता रहेकामा हालसम्म २४ जनाको मात्र शव फेला परेको छ ।
सरकारले असार ३१ गते गृह मन्त्रालयका सहसचिव रिजालको संयोजकत्वमा घटनाबारे अध्ययन गर्न ६ सदस्यीय कार्यदल बनाएको थियो ।