पहिरोले हेटौँडा-काठमाडौँ जोड्ने तीन वटा सडक अवरुद्ध  

काठमाडौँ । अविरल वर्षाका कारण पहिरो आउँदा हेटौँडा-काठमाडौँ जोड्ने तीन वटा सडक अवरुद्ध भएको छ ।

गएरातीदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा-काठमाडौँ जोड्ने सबैभन्दा छोटो मातातीर्थ-चखेल-महालक्ष्मी खोला हेटौंडा सडकखण्ड, सिस्नेरी-दक्षिणकाली सडकखण्ड र कान्तिलोक पथ अवरुद्ध बनेको हो ।

इन्द्रसरोवर गाउँपालिका-५ महालक्ष्मी दोभान नजिक र चखेल देउराली खण्डमा पहिरो गएको वडा अध्यक्ष दुतराज तितुङले जानकारी दिनुभयो । इन्द्रसरोवर-२ छेपारेमा पनि पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।

पहिरो ठूलो भएकाले तत्काल पन्छाउने सम्भावना नरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरो पन्छाउन सडक डिभिजन कार्यालय र इन्द्रसरोवर गाउँपालिकासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै भीमफेदी–८, बकैया गाउापालिका ११ सिमात घुम्ती र ललितपुर क्षेत्रमा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध बनेको छ । हेटौंडा काठमाडौं जोड्ने अन्य सडक सुचारु रहेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ ।