ओली निवास बालकोटमा खटिएका सशस्त्र इन्स्पेक्टर थापा मृत भेटिए  

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर ४३ वर्षीय उमेश थापाको मृत्यु भएको छ ।

सुतिरहेको ठाउँमा आज बिहान ५ बजे उनलाई बेहोस अवस्थामा फेला पारिएको बताइएको छ । लगत्तै भक्तपुर अस्पताल पुर्याउँदा चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए ।

मृत्युको कारण एकिन भइनसकेपनि हृदयघातका कारण मृत्यु भएको हुनसक्ने प्रारम्भिक निश्कर्ष रहेको छ । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।

पूर्वप्रधानमन्त्रीहरूको सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरीका इन्स्पेक्टर र सई नेतृत्वमा सुरक्षाकर्मीको टोली खटाउने गरेको छ ।