मध्य गाजामा राष्ट्र सङ्घीय एक विद्यालयमा इजरायलको आक्रमण, २० जनाको ज्यान गयो

काठमाण्डौँ - मध्य गाजामा सयौँ विस्थापित मानिसले आश्रय लिएको संयुक्त राष्ट्र सङ्घको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा २० जनाभन्दा बढीको ज्यान गएको छ । आक्रमणमा अरू थुप्रै घाइते भएका छन् । इजरायली सेनाले विद्रोही समूह हमासले घेरेको संयुक्त राष्ट्र सङ्घीय विद्यालयमा आक्रमण गरेको दाबी गरेको बीबीसीले जनाएको छ ।

इजरायली लडाकु विमानले नुसेरात शरणार्थी शिविरमा रहेको विद्यालयको माथिल्लो तल्लामा रहेको कक्षा कोठामा दुई वटा मिसाइल आक्रमण गरेको थियो । हमासको सञ्चार कार्यालयले भने इजरायलले गरेको नरसंहारमा कम्तीमा २७ जना मारिएका जनाएको छ ।

एम्बुलेन्स र उद्धार टोलीले घाइते र मृतकलाई नजिकैको अस्पतालमा पुर्‍याइरहेका छन् । हमास–इजरायल द्वन्द्व शुरु भएदेखि ७० वटाभन्दा बढी विदेशी सहायता संस्था र विद्यालय इजरायली आक्रमणमा परेका छन् । यो अवधिमा झन्डै एक सय ५० जना राष्ट्र सङ्घीय कर्मचारीको ज्यान गएको छ ।