नयाँ शैक्षिक सत्र सुरुभएकै छैन, विकटमा भने पुग्यो पाठ्यपुस्तक !

 जुम्ला - हिमाली जिल्ला जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ । यसअघिका वर्षहरुमा पाठ्यपुस्तक समयमा नपुग्ने जुम्लामा यो पटक नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको हो ।

सदरमुकाम खलङ्गा बजारमा रहेको जिपी स्टेसनरीका सञ्चालक गणेश रोकायाले शैक्षिक सत्र सुरु हुनु एक महिनाअघि नै पाठ्यपुस्तक जिल्लामा पुगिसकेको जानकारी दिए । 

अरू स्थानीय तहका विद्यालयले पनि पाठ्यपुस्तक लैजाने तयारी गरिरहेका रोकायाको भनाइ छ । उनका अनुसार यही चैत ११ गते कक्षा १ देखि १० सम्मका एक(एक हजार थान पुस्तक आइसकेका छन् । सरकारले हिमाली जिल्लामा माघ मसान्तभित्रै जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक छपाइ गरेकाले यो वर्ष पुस्तक वितरण सहज भएको हो ।

 विद्यालय सञ्चालन हुनु पहिले प्रत्येक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने भएको सध्या स्टेसनरीका सञ्चालक सुनम खड्काले बताए । उनका अनुसार शनिबार पाँच÷पाँच सय थान पाठ्यपुस्तक आइसकेका छन् ।