सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (लाईभ)

काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको संयुक्त  सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार साँझ ५ बजेर १५ मिनेटमा  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सरकारले साझा कार्यक्रम सार्वजनिक गरेको हो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र विशेष गरी आर्थिक मन्दीका कारण उत्पादनलगायतका क्षेत्रमा परेको असरलाई ध्यानमा राख्दै अर्थतन्त्र सबलीकरण गर्ने विषय न्यूनतम साझा कार्यक्रममा मुख्य रूपमा समेटिएका छन् ।

आर्थिक अवस्था सुधार, सङ्क्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर न्यूनतम साझा कार्यक्रम तयार पारिएको छ ।

यसअघि सत्ता साझेदार दलका नेताहरू सम्मिलित कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार पार्न जिम्मेवारी दिएको थियो । कार्यदलमा नेताहरू नेपाली कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका विजय पौडेल सदस्य थिए । 

न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुअघि यसलाई अन्तिम रूप दिन सत्ता साझेदार दलहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफलसमेत भएको थियो । यो बैठकले अनुमोदन गरेपछि सरकारले साँझ न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । 

https://youtu.be/DyUODXUeqCY