जीवन बीमा कम्पनीले आर्जन गरे ६१ अर्ब बढी बीमाशुल्क,नेपाल लाइफ शीर्ष स्थानमा

 काठमाडौँ - चालू आर्थिक वर्षको पाँच महीनामा १४ जीवन बीमा कम्पनीहरूले रू ६१ अर्बभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । 

नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार यी कम्पनीले मङ्सिर महीनासम्ममा १ करोड ३७ लाख ५४ हजार ४८३ वटा बीमालेख विक्री गरी रू। ६१ अर्ब ७४ करोड ७१ लाख कुल बीमा शुल्क आर्जन गरेका हुन् । यो रकम गत आवको मङ्सिर महीनासम्मको तुलनामा ३ दशलमव ७५ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीहरूले कुल रू ५९ करोड ५१ लाख बीमा शुल्क आर्जन गरेका थिए । 

चालू आवको पाँच महीनामा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स छ । कम्पनीले मङ्सिर महीनासम्ममा रू १६ अर्ब ७६ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । 

यो सूचीमा दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स छ । कम्पनीले रू ७ अर्ब १६ करोड बीमा शुल्क आर्जन गरेको छ । यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनले रू ६ अर्ब ९२ करोड र हिमालयन लाइफ इन्स्योरेन्सले रू ६ अर्ब ७९ करोड बीमा शुल्क आर्जन गरेका छन् ।