'बागमती प्रदेशलाई खाद्यान्नको पकेट क्षेत्र छिट्टै घोषणा गरिन्छ' : मुख्यमन्त्री जम्कट्टेल

काठमाण्डौँ - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राष्ट्र बैंक सरकारको सहयोगी नभएको आरोप लगाएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको ५७ औँ वार्षिक साधारणसभालाई शनिबार हेटौँडामा सम्बोधन गर्दै राष्ट्र बैंकको अर्थ नीति र गतिविधिले बैंकमा पैसा थुप्रेर बसे पनि लगानी हुननसकेको स्पष्ट पारे ।  

ब्याज घटाउने र लगानीको मोडेल बनाउने कुरा राजनीतिक निर्णयमा भरपर्ने बताउँदै लगानी क्षेत्र सरकारले छुट्याइसकेपछि राष्ट्र बैंकले दायाबाया गर्दा समस्या उत्पन्न भएको मुख्यमन्त्रीको भनाइ छ । 

लगानी र नीति बनाउनुपूर्व अध्ययन अनुसन्धान र बजारीकरणको अध्ययन नहुँदा स्थापना भएका उद्योग बन्द हुने अवस्थामा पुगेको उनले बताए । उनले उद्योग खोल्नु पूर्व त्यसलाई आवश्यक कच्चा पदार्थको व्यवस्था र बजारको अध्ययन गरेर मात्रै उद्योग खोल्न व्यवसायीलाई सुझाव दिए ।  

प्रदेश सरकारले समुदायमा आधारित ८५ पालिकालाई उत्पादनको पकेट क्षेत्र घोषण गर्ने तयारी गरेको जानकारी दिए । प्रदेशलाई खाद्यान्नको पकेट क्षेत्र घोषण पनि छिट्टै गरिने उनले बताए । उत्पादन र व्यवसायका मोडेल बनाउने जिकिर गर्दै मुख्यमन्त्रीले त्यसको नेतृत्व प्रदेश सरकारले लिन तयार रहेको बताए ।