एमाले गण्डकी प्रदेश अधिवेशन : आज मतदान हुँदै, नतिजा आजै आउने 

पोखरा - गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।  बुधबार दिउँसो १ बजे मतदान सुरु गर्ने तालिका सार्वजनिक भएपनि मनोनयन प्रक्रिया ढिला सुरु हुँदा प्रदेश निर्वाचन समितिले निर्वाचन कार्यतालिका पुनःसंशोधन गर्दै आज दिउँसोबाट मतदान हुने जनाएको हो ।

निर्वाचन समितिका अनुसार उम्मेदवारी फिर्ताको समयावधि बिहानसम्मको लागि तय गरिएको छ त्यसपछि आजै दिउँसो मतदान हुने कार्यक्रम रहेको छ । निर्वाचनमा विद्युतीय मतदान हुने भएकाले परिणाम आजै आउने छ । मतदानमा प्रदेशका ८५ वटै स्थानीय तहबाट आएका ९०७ प्रतिनिधिले मतदान गर्नेछन् ।

निर्वाचनले पाँच पदाधिकारीसहित १६५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ ।