इजरायलले विद्यालयमा गरेको आक्रमणमा ३० को मृत्यु

काठमाण्डौँ - गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार गाजा सहरका दुई विद्यालयमा इजरायली आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको जनाएको छ । इजरायली सेनाले भने हमासको कमान्ड सेन्टरमा आक्रमण गरेको बताएको छ । गाजामा जुलाई ६ यता आक्रमण भएका विद्यालयको संख्या कम्तीमा ११ पुगेको छ । यसमा हमासद्वारा सञ्चालित क्षेत्रका अधिकारीहरूले यसअघि दिएको संख्या आधारमा करिब एक सय ५० जना मारिएका छन् ।

‘हसन सलामेह नरसंहार र अल–नासर विद्यालयमा भएको बम विस्फोटमा सहिद हुनेको संख्या ३० पुगेको छ, दर्जनौँ घाइते पनि भएका छन्’, नागरिक रक्षाका प्रवक्ता महमुद बासलले भने। मृतक र घाइते हुनेमा अधिकांश महिला तथा बालबालिका छन् । उनले इजरायल र हमास लडाकुहरूबीच चलिरहेको युद्धमा घरबाट विस्थापित प्यालेस्टिनीहरूलाई स्कूलहरूले आवास प्रदान गरिरहेको बताए ।