मनसुन फेरि सक्रिय हुने, अत्यधिक वर्षाको सम्भावना

काठमाण्डौँ - मंगलबारदेखि देशभरि फेरि अत्यधिक पानी पर्ने सम्भावना देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागले सोमबार विशेष मौसम बुलेटिन जारी गरी २२ र २३ साउनमा देशभरि मनसुन सक्रिय हुन लागेको जानकारी दिएको हो । अहिले पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ रहेको मनसुन न्यूनचापीय रेखा मंगलबारबाट नेपाल नजिक सर्ने सम्भावना देखिएको विभागले जनाएको छ । न्यूनचापीय रेखा नेपालतिर सरेसँगै वायुको चापका कारण जलवाष्प बोकेका बादल नेपालतिर सोहरिन्छन्, जसले गर्दा पानी पर्छ ।

विभागले ३५ जिल्लामा अत्यधिक पानी पर्न सक्ने भएकाले जोखिमको सम्भावना औंल्याएको छ । ती जिल्लामा प्रतिकार्यका लागि तयार रहन भनिएको छ ।
ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोर्खा, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्यूठान, अर्घाखाँची, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीमा अत्यधिक पानी पर्ने जोखिम छ ।