लामिछानेविरूद्धको मुद्दाको आजको सुनुवाई स्थगित

काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दाको आजको सुनुवाइ पनि स्थगित भएको छ ।  काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेशीको सुनुवाइ स्थगित गर्न सन्दीप पक्षका कानुन व्यवसायीले निवदेन दिएपछि स्थगित भएको हो। 

न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासको चौथो नम्बरमा मुद्दाको पेशी तोकिएको थियो।

यसअघि गत कार्त्तिक १८ गते घिमिरेको इजलासले सन्दीपलाई मुद्दामा पुर्पक्षाका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर, पछि पाटन अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोड्ने आदेश दिएको  थियो।

जबरजस्ती करणी मुद्दामा सन्दीप दोषि हुन् वा निर्दोष ? भन्ने विषयमा काठमाडौं जिल्ला अदालतले आज टुंगो लगाउने छ। सोमबार सरकारी वकिल र पीडितको तर्फबाट कानुन व्यवसायीले बहस गर्ने तयारी छ। पीडित पक्षका कानुन व्यवसायी पछि सन्दीपको तर्फबाट कानुन व्यवसायीले बहस गर्ने जनाइएको छ। सर्वोच्चको आदेश लगत्तै उनी दुबईमा क्रिकेट खेलेर फर्किएका थिए।