एक बोरा धानका लागि  ७० वर्षीया वृद्धाको हत्या  

काठमाडौँ । सर्लाहीको बागमतीमा एक बोरा धानका लागि एक व्यक्तिले वृद्धाको हत्या गरेको खुलेको छ।

एक बोरा धान लुट्ने क्रममा रौतहटको वृन्दावन नगरपालिका– ५ नरकटियाका अन्दाजी ३९ वर्षीय प्रमोद झा भनिने प्रमोद चौधरीले बागमती नगरपालिका– ४ बस्ने ७० वर्षीया पार्वती महतोको हत्या गरेको प्रहरीले जनाएको छ।

गत मंगलबार साँझ महतो आफ्नै घरमा मृत फेला परेकी थिइन्। बिहीबार पत्रकार सम्मेलनमार्फत प्रहरीले घटनामा संलग्न चौधरीलाई सार्वजनिक गरेको हो।

चौधरीलाई घटनाको भोलिपल्ट बागमती नगरपालिका– १, नहरनजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब निरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए। 

सोही क्रममा वृद्धाले प्रतिकार गर्दा चौधरीले नजिकै रहेको चिर्पट टाउकोमा प्रहार गरेको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। 
चौधरीलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको छ।