आजको शेयर बजार उच्च अंकले घट्यो, कारोवार रकम कति ? 

काठमाडौँ - सोमबार सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा मंगलबार उच्च अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक ७०.३१ अंक घटेर २०७.६९ को विन्दुमा कायम भएको हो ।

सोमबार एकैदिन परिसूचक ११७.७० अंक अर्थात् ६ प्रतिशतले बढेको थियो । उच्च अंकको वृद्धिपछि मंगलबार लगानीकर्ता नाफा बुकमा लाग्दा बजार घटेको हो । मंगलबार ३०६ कम्पनीको एक करोड १४ लाख ६७ हजार ५९९ कित्ता ६९ हजार २०८ पटक खरिदबिक्री हुँदा चार अर्ब ११ करोड ३६ लाख ७६ हजार ९५८ बराबरको कारोबार भएको छ । 

मंगलबारको कारोबारमा २१३ कम्पनीको शेयर मूल्य घट्दा ३३ कम्पनीको मात्रै बढेको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स ३.२४ र फ्लोट इन्डेक्स ३.३७ प्रतिशतले घटेको छ । म्युचुअल फन्ड ०.६६ प्रतिशतले बढ्दा अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक ४.३५ प्रतिशतले घटेको छ ।

त्यस्तै, जलविद्युत् समूह ४.३० र उत्पादन तथा प्रशोधन चार दशमलव २० ले घटेको छ । बैंकिङ ३.०१, विकास बैंक ३.६५, वित्त २.७५, होटल तथा पर्यटन ३.६९ र लगानी समूह ३.४८ प्रतिशतले घटेको छ । त्यसैगरी, जीवन बीमा समूह ३.४९, लघुवित्त १.२७, निर्जीवन बीमा समूह २.६० र व्यापार समूह २.१५ प्रतिशतले घटेको छ ।