नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन १ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौँ - नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आगामी फागुन १ गतेदेखि ४ अर्ब ४ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख ४० हजार कित्ता भएको १० वर्षे अवधिको ‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।  

कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात २४ लाख २४ हजार इकाइ व्यक्तिगत तवरबाट ५ प्रतिशत अर्थात ८० हजार ८ सय इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोसहित र बाँकी ४० प्रतिशत अर्थात १६ लाख १६ हजार इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ।  

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १५ गते बैंकिङ समयपछि हुनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज प्राप्त गर्नेछन् ।