नवराज विकको मुद्दामा सुनुवाइ : दोस्रो दिन पीडित पक्षका वकिलले बहस गर्दै

काठमाडौँ - अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा अन्तिम सुनुवाइ आज  दोस्रो दिन पनि सुरु भएको छ । सुनुवाइ सोमबार बिहान ११ बजेदेखि रुकुम जिल्ला अदालत रुकुम पश्चिममा सुरु भएको सूचना अधिकारी गोविन्द कोइरालाले जानकारी दिए ।

उक्त मुद्दाको अन्तिम सुनुवाइ न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासमा भइरहेको छ । सूचना अधिकारी कोइरालाका अनुसार आज पीडित पक्षका बाँकी पाँच वकिलले बहस गर्नेछन् । ‘हिजो वादी पक्षका नौं जना वकिलले बहस गर्नुभयो । आज पनि जाहेरी पक्षका बाँकी पाँच वकिलले बहस गर्नेछन् । त्यो सकिएपछि प्रतिवादी पक्षका वकिलहरूले पनि बहस गर्नुहुन्छ,’ कोइरालाले भने ।


दुवै पक्षका गरेर कुल २२ जना वकिल भएको उनले जानकारी दिए । बहस धेरै लामो समय नगएको अवस्थामा सुनुवाइ भोलि मंगलबारसम्ममा सकिने उनले जानकारी दिएका छन् । आज सुरुमा जाहेरवालाको तर्फबाट उच्च सरकारी वकिल कार्यालय सुर्खेतका निमित्त न्यायाधीवक्ता डम्बरप्रसाद कार्कीले बहस गर्नेछन् ।