घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

काठमाडौँ - पछिल्ला वर्षमा नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता अफिसियल डेभलपमेन्ट असिस्टेन्स–ओडिएको अंश घट्दै जाँदा यस्तो रकम सरकारी प्रणालीभन्दा बाहिरबाट खर्च गर्ने प्रवृत्ति भने बढ्दै गएको देखिएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विकास सहायता प्रतिवेदन डेभलपमेन्ट कोअपरेसन रिपोर्ट–डिसिआर २०२१र२०२२ अनुसार गत आर्थिक वर्ष २०२१र२२ मा नेपालले प्राप्त गरेको कुल वैदेशिक विकास सहायताको करिब २१ प्रतिशत रकम सरकारको वार्षिक बजेट बाहिर अफ–बजेटबाट खर्च भएको देखिएको छ ।

आव २०२१र२२ मा नेपालले अमेरिकी डलर दुई अर्ब ४० करोड बराबरको वैदेशिक विकास सहायता प्रतिबद्धता प्राप्त गरेकोमा वास्तविक प्राप्ति एक अर्ब ४० करोड अमेरिकी डलर बराबर छ । त्योभन्दा अघिल्लो वर्ष अर्थात् आव २०२०र२१ मा नेपालले एक अर्ब ७० करोड अमेरिकी डलर बराबर विकास सहायता लिएको थियो भने आव २०१९र२० मा पछिल्लो १० वर्षयताकै उच्च अर्थात् दुई अर्ब अमेरिकी डलर विकास सहायता प्राप्त गरेको थियो । विकास सहायता प्राप्तिको यो तथ्याङ्क हेर्दा आव २०१९र२० मा २६ दशमलव नौ प्रतिशतले बढेको थियो भने पछिल्लो दुई आर्थिक वर्षमा भने लगातार घटेको देखिन्छ । नेपालले पाएको विकास सहायता आव २०२०र२१ मा १५ दशमलव नौ प्रतिशत र आव २०२१र२२ मा १५ दशमलव सात प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।