बागमती प्रदेशको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगियो 

काठमाण्डौँ - बागमती प्रदेशको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आग्रहमा सभामुख भुवनकुमार पाठकको आह्वानमा आइतबार बसेको बैठक निष्कर्षबिना टुंगिएको हो ।
सभामुख पाठकको कार्यकक्षमा दिउँसो साढे १ बजेदेखि अपराह्न साढे ४ बजेसम्म बसेको बैठकले कुनै पनि विषयमा सहमति जुटाउन नसकेको हाम्रो नेपाल पार्टीका बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रप्रसाद बज्रचार्यले जानकारी दिए ।

बैठक सुरू हुनेबित्तिकै मुख्यमन्त्री जम्कट्टेल र प्रतिपक्ष दलका नेताहरूबीच बजेटबारे भएको सहमति कार्यान्वयनको विषय उठेको थियो । एमाले र राप्रपाले बजेटको विषयलाई लिएर लगातार प्रदेश सभा अवरूद्ध गरेपछि गत असार २० गते बसेको बैठकले विपक्षी दलको माग सम्बोधन गर्न एमालेलाई ४५ करोड र राप्रपालाई २५ करोड रूपैयाँसम्मको योजनामा बजेट दिने सहमति गरेको थियो ।

सहमतिपछि असार २२ गते बजेट पास भएको थियो । तर त्यसपछि सरकारले सहमति कार्यान्वयनमा कुनै तदारूकता नदेखाएको भन्दै विपक्षी दलहरूले पटकपटक प्रदेश सभामा अवरोध गर्दै आएका छन्  । असोजपछि बैठक नै बस्न सकेको छैन ।
आइतबारको सर्वदलीय बैठकमा पनि विपक्षी दलहरूले सोही सहमति कार्यान्वयनको विषय उठाएका थिए । मुख्यमन्त्री जम्कट्टेलले भने सहमति कार्यान्वयन हुने अवस्था नरहेको बताएका थिए ।