चोभार सुक्खा बन्दरगाह ट्रान्स जेभीले सञ्चालन गर्ने

 काठमाडौँ - चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालिबीच सम्झौता भएको छ ।

सोमबार समिति र प्रालिबीच पाँच वर्षको लागि २ करोड ८८ लाख रकम न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँड गर्नेगरी सम्झौतामा हस्ताक्षर भएको हो । करार सम्झौता समितिका निर्देशक युवक डंगोल र सञ्चालक कम्पनीको तर्फबाट प्रवन्ध निर्देशक मुकेशकुमार राठीले हस्ताक्षर गरे । हस्ताक्षरपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले संस्थाले न्यूनतम शुल्क लिएर स्तरीय सेवा दिइ वार्षिक १३० करोड भन्दा बढी आम्दानी गरिरहेको बताए ।

उनले चालु आर्थिक वर्षको बजेटमा इन्टरमोडल यातायात विकास समितिको कार्यालय खारेजी गर्ने उल्लेख भए पनि कार्यालय खारेजी नहुने बताए । उनले संस्था अझै बलियो भएर जाने र खारेजी भए पनि कुनै समस्या नपर्ने गरी व्यवस्थापन गर्नेतर्फ आफूहरूले सोचिरहेको उनको भनाइ छ । चोभार सुक्खा बन्दरगाह सञ्चालन शुरू भएको करिब २० महिनाको अवधिमा व्यापारिक प्रयोगमा वृद्धि भइरहेको पनि उनले जानकारी दिए । उक्त सुक्खा बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन तथा व्यवस्थापनको लागि दिँदा प्रभावकारी सञ्चालन एवं व्यवस्थापनले नेपाल सरकारलाई प्राप्त हुने राजश्वमा तुलनात्मक रूपमा वृद्धि हुने अवस्था देखिएको उनले बताए ।