कोशी प्रदेशको नयाँ सरकार गठनमा रास्वपाको समर्थन हो ? 

काठमाण्डौँ - सत्तारूढ राजनीतिक दलहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा समेतलाई साथ लिएर नेपाली कांग्रेस नेतृत्वमा कोशी प्रदेशमा सरकार गठन गर्ने समझदारी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो बसेको गठबन्धन दलको बैठकले कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार गठन गर्ने समझदारी गरेको हो ।

बैठकमा आआफ्नो संसदीय दलमा छलफल गरेर थापाको नेतृत्वमा सरकार गठनका लागि निर्णय लिने समझदारी पनि बनेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । ‘हामी गठबन्धनमा भएका दलहरूका तर्फबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अगाडि सार्न प्रदेशका पार्टी निकायहरूलाई सल्लाह दिने निर्णय भएको छ,’ बैठकपछि पत्रकारहरूसँग उनले भने ।