गोली प्रहार गरेर सुनको सिक्री लुटपाट गर्ने दुईजना पक्राउ  

काठमाडौँ । महोतरीको गौशालामा गोली प्रहार गरेर लुटपाट गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा सबैला–९ का ४७ वर्षीय शशि शंकर कापर र महोत्तरी भंगहा–२ का ३० वर्षिय आशिष कुमार कंठ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले बिहीबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ । गत जेठ २८ गते गौशाला नगरपालिका-५, मरहा खोलामा साँझ साढे ५ बजे वडा नम्बर ११ बस्ने विनयकुमार सिंहमाथि गोली प्रहार गरी सुनको सिक्री लुटपाट भएको थियो । घटना महतो घाइते भएका थिए । घटनास्थलबाट दुईवटा गोली र दुईवटा गोलीको खोका बरामद भएको थियो ।

अनुसन्धानका क्रममा दुवैजना यसअघि पनि विभिन्न मुद्दामा जेल चलान भएर छुटिसकेको खुलेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले बताए ।

उनीहरुबीच जेलमा बस्दा आपसमा चिनजान भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो । प्रहरी नायव उपरीक्षक जैसवारका अनुसार अपराधमा प्रयोग भएको हतियार र मोटरसाइकल समेत बरामद भएको छ ।

पक्राउ परेका दुवैजनालाई हातहतियार तथा खरखजना, चोरी डाका, ज्यान मार्ने उद्योग र संगठित अपराध गरि चार मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी उपरीक्षक नकुल पोखरेलले बताए ।