नयाँ वर्षमा चार चलचित्र

काठमाडौं - आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शन हुँदैछ। यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन।

वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन हुने घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन्।’ नाई नभन्नु ल’को छैटौँ शृङ्खलालाई विकासराज आचार्यले निर्देशन गरेका छन्।

यसमा आँचल शर्मा, आर्शिवाद क्षेत्री, केकी अधिकारीलगायतले अभिनय गरेका छन्। “प्रेमकथा कै निरन्तरता पाउनु हनेछ। दर्शककै मायाले छैटौँ शृङ्खलासम्म आइपुगेका छौँ। यसपटक द्वन्द्व पनि छ। समग्रमा मनोरञ्जनको प्याकेज तयार गरेका छौँ”, निर्देशक आचार्यले भने।

सोही मितिमा अभिनेता दयाहाङ राई अभिनित दुई चलचित्र बिहे पास र जारी एकसाथ प्रदर्शन हुँदैछ। लिम्बुसमुदायको प्रेमकथालाई विषयवस्तु बनाइएको ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा रहेको निर्माण पक्षले जानकारी दिएको छ।

कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणी नेपाल, रेखा लिम्बुलगायतले अभिनय गरेका छन्।

सोही मितिमा प्रदर्शन हुने भनिएको अभिनेता राई अभिनित ‘बिहे पास’मा प्रकृति श्रेष्ठ, वृद्धि तामाङ, शिशिर वाङ्देललगायतले अभिनय गरेका छन्। प्रवेश पौडेलको निर्देशक रहेको चलचित्रमा बिहे गर्नको लागि सरकारी जागिर हुनुपर्छ भन्ने मान्यताको कथावस्तु रहेको छ।

“निर्माण, प्रदर्शन स्वाभाविक प्रक्रिया हो। यसलाई त्यहिरूपमा हेर्नुपर्छ। हेरौँ आउने नतिजाले आगामी दिनलाई निर्णय गर्न सहज हुन्छ कि?”, अभिनेता राईले भने।

यस्तै, वैशाख १ मै प्रदर्शनमा आउने चलचित्र हो ‘बुलाकी’। कर्णालीको ग्रामीण जीवन, रितिथिति, जारी प्रथा तथा परिवार र सम्बन्धलाई देखाईएको चलचित्रलाई विराज विष्टले निर्माण गरेका हुन्।

सुरक्षा पन्त, नरेन खड्कासँगै स्वयम् निर्माता विष्टले अभिनय गरेका छन्। नयाँ वर्षलाई लक्षित गर्दै चार चलचित्र प्रदर्शन हुनु सुखद् नरहेको वितरक करण श्रेष्ठले बताए।

“एकसाथ यसरी चलचित्र प्रदर्शन हुनाले सबैलाई घाटा गर्छ। विदालाई लक्षित गर्दै दुईसम्म चलचित्र प्रदर्शन हुनु सामान्य मानिन्छ”, वितरक श्रेष्ठले भने, “यसबारे सम्बन्धित संस्थाले सोच्नै पर्छ। यहिक्रम रहने हो भने आगामी दिन झनै मुस्किल हुनेछन्।”

चैत महिनामा पहिलो नेपाली चलचित्र ‘प्रेमा’ १७ गते प्रदर्शन भएको छ। यस्तै, चैत २४ मा दुई चलचित्र प्रसाद २ र बहाव प्रदर्शन हुँदैछ। विदेशी चलचित्रबाट जोगिदै र स्वदेशी बिदालाई ध्यान राख्दै प्रदर्शन तय हुँदा चलचित्रको भीडभाड मसान्त र नयाँ वर्षमा बढेको हो।