चितवन–२ उपनिर्वाचन : प्रमुख दलका उम्मेदवारहरु बीचमै कडा प्रतिस्पर्धा

 चितवन - चितवन निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि २४ जनाले उम्मेदवारी दिएका छन् । चितवन नम्बर २ को निर्वाचनका लागि सोमबार भएको मनोनयन दर्ता कार्यक्रममा दलबाट १२ र स्वतन्त्रबाट १२ गरी २४ जनाको उम्मेवारी परेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवन क्षेत्र नम्बर २ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यलेका अनुसार चितवन २ मा आगामी बैशाख १० गते हुने निर्वाचनका लागि २ महिला र २२ पुरुष चुनावी मैदानमा रहेका छन् ।

गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा यस निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका थिए । नागरिकता विवादमा सर्वोच्च अदालतले उनको सांसद पद नै खारेज गरिदिएको थियो । लामिछानेको सांसद पद खोसिएपछि रिक्त रहेको उक्त स्थामनमा उपनिर्वाचन हुन लागेको हो ।