लागू औषध ब्युरोको कारबाही विवादमा, किन यस्तो भयो ?

इटहरी - नेपाल प्रहरीको लागू औषध व्युरो अन्तर्गत झापामा परिचालित टोलीले गरेको एउटा सर्च र कारबाही प्रक्रियाको घटना विवादित बनेको छ । गत माघ १८ गते ब्युरोको टोलीले दमक नगरपालिका वडा नम्बर २ खरखरेबाट तीनजनालाई केही परिमाणको लागू औषधसहित पक्राउ गरेको घटना अहिले आएर विवादित बनेको हो । 

ब्युरोका प्रहरी नायव निरीक्षक सचिन्द्र लामिछानको नेतृत्वमा गएको टोलीले दमक २ खरखरेबाट दमकका ३७ वर्षका तेजकुमार खबास, ३५ वर्षका सुनिल श्रेष्ठ र २२ वर्षका विजय धिमाललाई पक्राउ गरेको थियो । 

सो क्रममा टोलीले खबास र श्रेष्ठको साथबाट १९ ग्राम लागू औषध ब्राउनसुगर पनि बरामद गरेको दाबी गर्दै व्युरोले इलाका प्रहरी कार्यालय दमकमार्फत जिल्ला अदातल झापाबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ । 

तर उनीहरुलाई पक्राउ गर्ने क्रममा उनीहरु बसेको घरको खानतलासी गर्दै ब्युरोको टोलीले बरामद गरेको चार चक्के सवारी साधन, छ लाखभन्दा बढी नगद, केही परिमाण सुन, ल्यापटप, आइप्याड, प्रोजेक्टर, केही थान मोबाइल, जुत्तालगायतका विभिन्न सामग्री लिएर गए पनि प्रहरी प्रतिवेदन र मुचुल्कामा उल्लेख नगरेको पाइएपछि पक्राउ गर्ने प्रहरी टोलीको नियतमाथि शंका बढेको हो । 

व्युरोको टोलीले उनीहरुलाई पक्राउ गर्दा साथबाट लागूऔषध र त्यससँग प्रत्यक्ष सम्बन्धित सामानमात्र बरामद गर्नुपर्नेमा अन्य सामानसमेत लिएर गएको र त्यसलाई प्रहरी प्रतिवेदन, मुचुल्कामा पनि उल्लेख नगरेको घटना सार्वजनिक भएपछि प्रहरीको नियतमा शंका देखिएको हो ।  

पक्राउ परेका तेजकुमार खबासकी आमा बेदकुमारी, सुनिल श्रेष्ठकी बहिनी माया गुरुङ, ज्वाइ अनुप गुरुङ र अन्य आफन्तले मात्र होइन, प्रहरी प्रतिवेदन र सर्जिविन मुचुल्कामा सही छाप गरेका छिमेकी पुष्प धिमालले समेत घरबाट बरामद गरिएका अधिकांश सामान प्रहरीले प्रतिवेदनमा नदेखाएको बताए। 

 यता, इप्रका दमकको हिरासतमा रहेका यस घटनासँग सम्बान्धित तीनजना आरोपीसमेतले व्युरोको टोलीले आफूहरुलाई फसाएको दाबी गरे  । उनिहरुले आफूहरु लागूऔषध सेवनकर्ता रहेको तर व्युरोको टोलीले आफूहरुसँग रहेको करिब एक ग्राम ब्राउनसुगरमा अठार ग्राम थप गरी मुचुल्कामा देखाएको आरोप लगाए । 

खानतलास गर्ने क्रममा घरबाट छ लाख भन्दा बढी नगद, सुन, बा ५ च २३०० नम्बरको किया मोटर्सको चार चक्के गाडी, प्र १–०२–४८ प ६६५७ र ज २२ प ५५५७ नम्बरको मोटरसाइकल, को २८ प ३१४६ नम्बरको स्कुटी, ल्यापटप, प्रोजेक्टर, मोवाइललगायत अन्य धेरै सामान लगेको आरोपीहरुको भनाइ छ ।

घटनास्थलबाट बरामद गरिएका नगद र सामानमध्ये मुचुल्कामा ९७ हजार रुपियाँ नगद र तीनवटा मोटरसाइकल र स्कुटी समावेश गरिएको र अन्य नगद र सामान समावेश नगरिएको भन्दै पक्राउ परेका परिबार र मुचुल्कामा सहीछाप गर्नेले आपत्ति जनाएका टन् ।  अन्यत्र चर्चा नगर्ने सर्तमा बा ५ च २३०० गाडी भने फिर्ता गरिएको आरोपी एक पीडितको भनाइ छ ।

घटनास्थलबाट आरोपीहरुलाई पक्राउ गर्ने र घरका खानतलासी गरी सामान बरामद गर्ने क्रममा व्युरोको तीनजना मात्र रहेको र सबै काम सकेपछि मात्र इप्रका दमकसँग मद्दत मागेर अन्तिममा प्रहरी टोली मगाइएको पनि बताइएको छ । 

यस विषयमा इप्रका दमकका प्रहरी नायब उपरीक्षक मनोज लामाले कुनै प्रतिक्रिया दिन चाहेन। लागूऔषध व्युरोको टोलीले पक्राउ गरी इप्रकामार्फत अनुसन्धान भइरहेको, आफूले इप्रकाको नेतृत्व सम्हाल्नुभन्दा पहिलाको घटना भएको र प्रहरीको केन्दीय नीति अनुसार मिडियामा केही बोल्न नमिल्ने प्रनाउ लामाको भनाइ छ । 

यस विवादित घटनाको सन्दर्भमा लागूऔषध व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालसमेतले व्युरोको टोलीले निजहरुको घरबाट केही सामान प्रहरी प्रतिवेदन र मुचुल्कामा समेत जनाउ नगरी लगेको पाइएको स्वीकार गरेका छन्। 

उनिले व्युरोको टोलीले किन के प्रयोजनका लागि विभिन्न सामग्री बरामद गरेको र के कारणले मुचुल्कामा समावेश नगरेको भन्ने कुरा खोजी र अनुसन्धानको विषय बनेको पनि बताए। 

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई पनि यस घटनाको विषयमा जानकारी भइसकेको छ । उनले यस विषयमा आन्तरिक छानबिन र अनुसन्धान गर्ने सन्दर्भमा कोशी प्रदेशका प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवालीले समन्वय गर्ने बताए ।