अमेरिका र बेलायतले यमनमा गर्यो आक्रमण

एजेन्सी । संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा आक्रमण गरेका छन् । यमनमा इरान समर्थित हुथी विद्रोहीलाई लक्षित गर्दै शनिबार अमेरिका र बेलायतले ४९ स्थानमा आक्रमण गरेको हो ।

दुई देशले भने संयुक्त वक्तव्यमा हुथीका ३६ स्थानका अखडामा आक्रमण गरेको बताएको थियो । तर, त्यसभन्दा थप १३ स्थानमा आक्रमण भएको हुथीले जनाएको हो । हुथीका प्रवक्ताले आफूहरूमाथि भएको आक्रमण रोक्न नसक्ने टिप्प्णी गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा यसको सजाय र जवाफ दिने चेतावनी समेत दिएका छन् ।

‍मंसिरको अन्तिम सातादेखि अमेरिका र बेलायत लगायतका देशहरूले इरान समर्थित विद्रोही समूहविरूद्ध आक्रमण गर्दै आइरहेको छ ।एक साताअघि जोर्डनमा भएको ड्रोन हमलामा तीन जना अमेरिकी सैनिक अधिकारी मारिएका थिए ।

त्यसमा इरानको रिभोलुसनरी गार्ड (आइआरजिसी) को हात रहेको निष्कर्ष निकाल्दै अमेरिकाले शुक्रबार त्यसका समर्थित समूहलाई लक्षित गरी शुक्रबार इराक र सिरियामा पनि हवाई आक्रमण गरेको थियो ।