३० दूरसञ्चार प्रदायक कम्पनीलाई सम्पर्कमा आउन प्राधिकरणको निर्देशन

 काठमाडौँ - नेपाल दूरसञ्चार प्राधिकरणले ३० वटा दूरसञ्चार प्रदायक कम्पनीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
नियमानुसार बुझाउनुपर्ने वित्तीय विवरण तथा रोयल्टी नबुझाउने ३० वटा दूरसञ्चार कम्पनीलाई सात दिनभित्र प्राधिकरणको सम्पर्कमा आउन आग्रह गरेको हो ।

‘नियमानुसार बुझाउनु पर्न अडिटेड वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनु पर्नेमा सो भएको नदेखिएको र बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक–पटक सम्पर्क गर्न पत्राचार तथा इमेल गर्दा समेत सम्पर्क हुन नसकेकाले हुँदा यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र प्राधिकरणमा सम्पर्क गर्नको लागि यसै सूचनामार्फत् जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।

उक्त अवधिभित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ ।