प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न :  एनसेल भागे कसले जिम्मा लिन्छ ?

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले एनसेलको नवीकरण कानूनविपरीत भएको भन्दै एनसेल र प्रधानमन्त्रीबीचको सम्बन्धबारे जवाफ माग गर्दै एनसेल भागे कसले जिम्मा लिने भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद शाहले सरकारले कानूनविपरित एनसेलको नवीकरण गर्न लागेको आरोप लगाएका हुन्। 

‘ठूलाबडालाई एउटा कानून लाग्ने अनि सानालाई अर्को कानून लाग्ने हुन्छरु एनसेलले अर्बौं रुपैयाँ राजश्व रोकेर राखेको छ‚ सरकारलाई बुझाएको छैन‚’ उनले भने‚ ‘यदि त्यो पैसा उठेन भने विदेशी लगानीकर्ता भाग्यो भने त्यो राजस्व कसले दिने ? प्रधानमन्त्रीले जिम्मा लिनु पर्छ कि पर्दैन ?’

उनले करदाता कार्यालयले तोकिएको राजश्व नलिइकन सरकारले एनसेलको नवीकरण गर्ने निर्णय गरेको आरोप लगाए। उनले प्रधानमन्त्रीको एनसेलसँगको सम्बन्धबारे जान्न चाहेको बताए।

उनले आम जनताले आफ्नो संस्थालाई नवीकरण गर्नुपर्दा राजश्व छुट नपाइ जरिवाना गराउने गरिएको भन्दै ठूलाबडाका लागि अर्कै कानून लाग्ने हो भनि प्रश्नसमेत गरे।