संघीय संसदका दुवै सदनको बैठक बस्दै    

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा आज तीन जना मन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने  भएका छन्। 

दिउँसो १ बजे बस्ने बैठकमा सहरी विकास मन्त्री प्रकाशमान सिंह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी र खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नेछन्। मन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन  प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि  रहेको संसद सचिवालयले जनाएको छ। 

राष्ट्रियसभाको बैठक पनि आजै दिउँसो सवा १ बजे बस्दैछ।  बैठकमा उर्जा, जलस्रोत तथा सिचाईमन्त्री दीपक खड्का र खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। 

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुने कार्यसूचि पनि रहेको छ। 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०७९/८० को चौथौ वार्षिक प्रतिवेदन सभासमक्ष पेश हुनेछ।