कोशीका मुख्यमन्त्रीविरुद्ध परेको रिटको सुनुवाइ आज हुने 

काठमाडौँ - कोशी प्रदेश सरकारको भविश्यका बारेमा आज सर्वोच्च अदालतमा पूर्ण सुनवाइ हुँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्चमा अन्तिम सुनवाइ हुन लागेको हो ।

मुख्यमन्त्री थापाले सभाध्यक्षसहितको मतमा विश्वासको मत लिएपछि नेकपा एमालेले सो कार्य गैरसंबैधानिक भन्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले आजवाट अन्तिम सुनुवाइ सुरु गर्न लागेको हो ।

उक्त रिटमाथि शुक्रबार पूर्ण सुनुवाइ गर्ने गरी यस अघि नै पेसी तोकिएको थियो तर सो रिटमा गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भनेसँगै पुन आजबाट सुनुवाइ हुने भएको हो ।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पुर्व मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ ।  जसकाकारण सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कुनै पनि महत्वपुर्ण निर्णय गर्न नपाउने गरी कामचलाउको अवस्थामा छ ।