पहिरोले घर पुरिंदा नातिनी–बोजु बेपत्ता

 रोल्पा - रोल्पामा पहिरोले घर पुरिंदा दुई जना बेपत्ता भएका छन् । शुक्रबार राति सुनछहरी गाउँपालिका – ४ कामी डाँडामा पहिरो जाँदा २४ वर्षीय देउसिंह कामीको घर पहिरोले पुरिएको हो । पहिरोले घरसँगै दुई जनालाई पुरेको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिए । घरमा देउसिंहकी आमा ६० वर्षीया बसुना सुनार र चार वर्षीया छोरीलाई पुरेको स्थानीयले बताएको डिएसपी लामाले जानकारी दिएका छन् ।

घटनाबारे स्थानीयले प्रहरी चौकी सिउरीमा राति पौने १० बजेतिर जानकारी गराएका थिए । देउसिंह र उनकी श्रीमती भने कामको शिलशिलामा बाहिर रहेकाले जोगिएको प्रहरीले जनाएको छ । सूचना पाउना साथ प्रहरी निरीक्षक केशरबहादुर थापाको कमाण्डमा चार जना प्रहरी घटनास्थलमा खटाइएका थिए ।

वर्षा नरोकिएको र पहिरो झर्ने क्रम जारी रहेको हुँदा उद्धारमा समस्या भइरहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता केशवराज बाराकोटीले उक्त घरमा बस्ने हजुरआमा र नातिनी नभेटिएका कारण पहिरोमा घरसँगै पुरिएको हुनसक्ने बताए ।