चितवन–२ मा एक सय ३८ मतदान केन्द्र तोकिए

 काठमाण्डौँ - चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि ४३ मतदान स्थल र एक सय ३८ मतदान केन्द्र तोकिएको छ । एक लाख २४ हजार ६९५ मतदाताका लागि सहज हुने गरी केन्द्रहरू तोकिएको निर्वाचन आयोगले जनाएको छ । 

सर्वोच्च अदालतले निर्वाचित प्रतिनिधि सभा सदस्य रबी लामिछानेको पद खारेज गरेसँगै वैशाख १० गते उप निर्वाचन हुन लागेको हो । उप निर्वाचनमा आज सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ । आज बिहान १० बजेबाट  बेलुकी पाँच बजे सम्म उम्मेदवारी दर्ताको कार्यक्रम रहेसँगै विभिन्न दलका नेताहरूको चहलपहल सुरु भएको छ । 

यो क्षेत्रमा अहिले उम्मेदवारका लागि नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पाटी लगायतका पार्टीहरूले आआफ्ना उम्मेदवार दर्ता गराउने घोषणा गरि सकेका छन् । नेकपा माअ‍ोवादी, नकेपा समाजवादी लगायतका सत्ता गठबन्धन दलहरूले भने काँग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय यस अघि नै गरेका छन् । 

काँग्रेसले आफ्ना पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवारी दर्ता गराउने तयारी गरेको छ ।  यस्तै एमालेले आफ्नो जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउँदै छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले यो पटक पनि आफ्ना अध्यक्ष  रवि लामिछानेलाई नै अघि सारेको छ ।