केयूले तीन साताअघि ल्याएको हाइड्रोजन कार कहिलेदेखि चल्छ ? कसरी बन्छ हाइड्रोजन ? 

काठमाडौँ - धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय केयू परिसरमा कोरियाबाट भर्खरै ल्याइएको एउटा नयाँ गाडी गुड्ने प्रतीक्षामा छ । उक्त गाडी पेट्रोल, डिजेल वा ब्याट्रीबाट नभई हाइड्रोजनबाट चल्ने गाडी हो । विश्वविद्यालयअन्तर्गत ग्रीन हाइड्रोजन ल्याबले परीक्षण प्रयोजनका लागि केही दिनअघि मात्रै उक्त गाडी नेपाल भित्र्याएको हो ।

गाडी आइपुगेको करिब तीन साता भइसके पनि इन्धनका कारण अहिलेसम्म सञ्चालनमा हुन सकेको छैन । केयूले निर्माण गरेको हाइड्रोजन फ्युल स्टेशन अन्तिम चरणमा छ ।

 यही मंसिर मसान्तसम्म उक्त स्टेशन सञ्चालनमा आउने र त्यसपछि नेपालमा पहिलो पटक हाइड्रोजन फ्युल सेलमा आधारित सवारीसाधन सञ्चालन हुने ल्याएको केयूका उपप्राध्यापक तथा ल्याबका प्रमुख डा विराजसिंह थापाले बताए ।

पानीलाई रासायनिक प्रतिक्रियामार्फत टुक्र्याएरपछि हाइड्रोजन र अक्सिजन बन्छ । नौ लिटर पानीलाई रासायनिक प्रतिक्रियाबाट टुक्र्याउँदा एक किलोग्राम हाइड्रोजन उत्पादन हुन्छ । त्यसरी टुक्र्याउन ५० देखि ६० युनिट विद्युत् खर्च हुने उपप्राध्यापक थापा बताउँछन् । यो हिसाबले हेर्दा हाइड्रोजन उत्पादनको लागत विद्युतको मूल्यमा निर्भर हुने उनको भनाइ छ । एक किलोग्राम हाइड्रोजन उत्पादन गर्न रु दुई सय ५० देखि तीन सयसम्मको विद्युत् खर्च हुने तथा पावर प्लान्टमा गरिने लगानी र प्रशासनिक खर्चलगायत आधारमा नेपालमा एक किलोग्राम हाइड्रोजनको लागत रु पाँच सय पर्ने अनुसन्धानकर्ताको अनुमान छ ।