देशभर बिपद्का घटनाहरुमा बृद्धि : आजसम्म बाढीपहिरोमा परी १४८ जनाको मृत्यु

काठमाडौँ - अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्मा परी आजसम्म एक सय ४८ जनाको मृत्यु भएको छ । 

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरोलगायतका विपद्मा परी काठमाडौंं उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ४८ जनाको मृत्यु भएको हो । 

उनका अनुसार काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चििम प्रदेशमा १४ जना गरी जम्मा एक सय ७६ जना घाइते भएका छन् ।

बाढीपहिरोका कारण काठमाडौंं उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा एक सय आठ जनाको उद्धार गरिएको छ ।