आजको मौसम : कोशी र गण्डकी प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने संभावना

काठमाडौँ - हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। उता राति भने देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

देशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्का र क्षणिक वर्षाको सम्भावना हुनाले मेघगर्जन र चट्याङ तथा हावाहुरीबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।