नेपालमा अहिलेको नयाँ शक्ति भनेकै माओवादी हो : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताएका छन्।

प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै आजका दिनमा माओवादी नै नयाँ शक्ति भएको बताए।

‘नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो, आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो, त्यो एजेण्डा माओवादीसँग मात्रै छ’– अध्यक्ष प्रचण्डले भने– ‘हामीले एजेण्डा उठाएनौं मात्रै, त्यसलाई आन्दोलनबाट स्थापित गरेर संविधानमा लिपिबद्ध गरेका छौं। संविधान कार्यान्वयन गरेर हामीले उठाएका राजनीतिक एजेण्डामार्फत जनताको जीवन बदल्न पनि फेरि माओवादी नै चाहिन्छ।’

उनले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको र पार्टी झन एकढिक्का भएको बताए। समाजवादी मोर्चालाई अझ व्यवस्थित बनाउँदै लैजाने र टुटफुट भएका माओवादी घटकहरुसँग एकता गर्ने क्रम पनि अघि बढ्ने अध्यक्ष प्रचण्डले जानकारी दिए। 

पार्टी वैचारिक, सांगठनिक र भावनात्मकरुपमा एकताबद्ध भएर अघि बढ्ने उल्लेख गर्दै उनले जनताका दैनिक सरोकारका समस्या र सामाजिक काममा जोडिएर अघि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिए।