हेटौँडा–कुलेखानी–काठमाडौँ सडक खण्डको निर्माण पुसभित्रै सकिन्छ : मुख्यमन्त्री जम्कट्टेल

हेटौँडा - बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा–काठमाडौँ जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडक खण्डलाई आगामी पुस महिनाभित्र निर्माण सम्पन्न गर्ने बताएका छन् ।

प्रदेशको राजधानीलाई सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने मार्गहरू पहिराको उच्च जोखिममा छन् । सामान्य वर्षा हुँदा समेत पहिरो खसेर पटक–पटक सडक बन्द हुँदा समस्या हुने गरेको छ । मुख्यमन्त्री जम्मरकट्टेलले हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडकखण्डको निर्माण कार्य समयमै सक्न चासो दिएका छन् ।

यो सडकखण्ड निर्माणको जिम्मा लिएका निर्माण कम्पनीलाई समयमै काम सक्न निर्देशन दिइसकेको जानकारी गराउँदै मुख्यमन्त्री जम्कट्टेलले पुस महिनापछि हेटौँडा–काठमाडौँ आवतजावतमा सहज हुने दाबी गरे । हेटौँडाबाट काठमाडौँ जोड्ने अन्य मार्गमा पनि विशेष गरी वर्षाको समयमा पहिराको उच्च जोखिम हुने तथा खाल्डाखुल्डी बनेर खण्डीकरण भएका कारण जोखिम बढ्दै गएकोप्रति पनि उनले चासो र चिन्ता व्यक्त गरे ।

मुख्यमन्त्री जम्कट्टेलले मन्त्रीहरूसँग गरिएको कार्यसम्पादन करार सम्झौताले पनि कतिपय अधुरा र अपूरा काम समयमै सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए । बुधबार उनले प्रदेशका मन्त्रीहरूसँग कार्यसम्पादन करार सम्झौत गरेका थिए ।
कार्य सम्पादन करार सम्झौताले कामको तीव्रता बढ्ने भन्दै उनले सरकारको मुख्य चासो भनेको हेटौँडा–काठमाडौँ जोड्ने सडक निर्माण सम्पन्न गर्नु रहेको बताए ।