क्यान्सरको उपचार गराइरहेका बिरामीको मृत्यु भएपछि दुई नर्स निलम्बनमा

काठमाडौँ । बीपी कोइराला मेमोरिय क्यान्सर अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि दुईजना नर्स निलम्बित भएका छन् ।

क्यान्सरलाई नष्ट गर्न प्रयोग गरिने औषधी किमोको मात्र बढी भएर बिरामीको मृत्यु भएको भन्दै दुई चिकित्सकसहित २३ जनालाई स्पष्टिकरण माग गरी सचेत गराइएको छ । बिरामीलाई दिनुपर्नेभन्दा १० गुणा बढी किमोको मात्रा दिइएपछि मृत्यु भएको थियो ।

३.४ मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताए । लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उपचार जारी थियो ।

उपचारका क्रममा आवश्यकभन्दा बढी किमो दिइएपछि गुरुङको मृत्यु भएको महतोले जानकारी दिए । उनका अनुसार, मेडिकल वार्डमा तीनपटकसम्म सोही मात्राको किमो दिइएपछि बिरामीको शरीरले धान्न नसकेर गएको असार १३ गते राति मृत्यु भएको थियो ।

बिरामीको उपचारमा लापरबाही गरेको देखिएपछि अस्पताल प्रशासनले दुई चिकित्सकसहित २३ नर्ससँग स्पष्टीकरण मागेको थियो । सूचना अधिकारी महतोका अनुसार, नर्स प्रभा तामाङ र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ ।

अस्पतालले उपनिर्देशक डा.उमेश नेपाल, मेडिकल अंकोलोजी विभागका प्रमुख डा. गुरुशरण शाह र नर्सिङ प्रमुख अनिता देवकोटा सम्मिलित छानबिन समिति गठन गरेको थियो । समितिले यही साउन ३ गते प्रतिवेदन बुझाएको महतोले जानकारी दिए ।

अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलले अध्ययन टोलीले आफ्नो प्रतिवेदन दिएपछि सोही आधारमा दुईलाई निलम्बन र २३ जनालाई स्पष्टीकरण सोधिएको बताए । योसँगै आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।