कांग्रेस र एमालेसँग पछि लागेर प्रचण्डले सत्ताका लागि मरिहत्ते गरे : डा. भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  कांग्रेस र एमालेसँग पछि लागेर सत्ताका लागि मरिहत्ते गरेको बताएका छन् ।

१३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधबार काठमाडौँको शान्तिवाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले प्रचण्ड सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाएका छन् ।

उनले माओवादी आन्दोलनमा लागेका पार्टी र व्यक्तिहरूलाई समेटेर नयाँ समाजवादी धुव्रीकरणको अभियान सुरु गर्न आफूले गत निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि प्रधानमन्त्री प्रचण्डको सत्तामोहका कारण त्यसलाई अघि बढाउन नसकिने जिकिर गरे ।

माओवादी आन्दोलनमा जोडिएका साथीहरूको एउटा ठूलो समूह थियो । ती साथीहरू पनि बडो दुविधामा थिए । कहिले एमालेको पछि लागेको छ, कहिले कांग्रेसको पछि लागेको छ । प्रचण्डजीले उहाँहरूलाई आफ्नो सत्ता स्वार्थमा निरन्तर घुमाई राख्नुभएको छ । त्यस्तो भएको बेलामा माओवादी आन्दोलनमा लागेकाहरुलाई समाजवादतर्फ लैजानका लागि आफूले चुनावमा सहकार्य गरेर जाने नीति लिएको हो, उनले भने ।