साताको शेयर बजार : नेप्सेमा ३३.७४ अङ्कको गिरावट, लगानीकर्ताले गुमाए करिब ५३ अर्ब रुपैयाँ

काठमाण्डौँ - यो साताको पाँच दिन नै सेयर कारोबार भएको छ । पाँच दिनमा करिब साढे ११ अर्बको कारोबार हुँदा नेप्से परिसूचकमा भने ३३.७४ अङ्कको गिरावट आएको छ ।

साताको पहिलो दिन आइतबार बजार खुल्दा २००५.८३ विन्दुमा रहेको नेप्से परिसूचक बिहीबार १९७२.०९ विन्दुमा बन्द भएको हो । बजारमा ३३.७४ अङ्कको गिरावट सँगै कारोबार पनि सुस्ताउन थालेको छ ।

पाँच दिनमा कुल ११ अर्ब ५० करोड १९ लाख ७८ हजार चार सय ३४ रुपैयाँ बराबरको कारोबार भएको छ । जस अनुसार औसतमा हेर्दा दैनिक करिब दुई अर्ब ३० करोड तीन लाख बराबरको कारोबार भएको हो । यो साता आइतबार, बुधबार र बिहीबार बजार घट्दा सोमबार र मङ्गलबार भने बजारमा वृद्धि भएको थियो ।

उपसूचकतर्फ हेर्दा यो साता बैंकिङ उपसूचक २७।४६ अङ्कले घटेको छ । यसैगरी विकास बैंक उपसूचक १२२.०६ अङ्कले घटेको छ । हाइड्रोपावर उपसूचकमा पनि यो साता १०३.९५ अङ्कले गिरावट भएको छ । फाइनान्स उपसूचक पनि ५९.८२ अङ्कले घटेको छ ।
 
आइतबार बजार खुल्दाको कुल पुँजीकरण ३१ खर्ब ५३ अर्ब रुपैयाँ रहेकोमा बिहीबार बजार बन्द हुँदा कुल बजार पुँजीकरण घटेर ३० खर्ब ९९ अर्ब ८६ करोड पुगेको छ । अर्थात यो साता समग्र लगानीकर्ताको सम्पत्तिमा ५३ अर्ब १३ करोड रुपैयाँले गिरावट आएको छ ।