धादिङमा पहिरो, २५० भन्दा बढी सवारी साधन काठमाडौं फर्काइए
काठमाडौँ । धादिङ जिल्लामा आज बिहानदेखि निरन्तर वर्षापछि नागढुङ्गा–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेका कारण यातायात आवागमन अवरुद्ध भएको छ । पहिरो तत्काल हटाउन नसक्ने अवस्था देखिएपछि २५० भन्दा बढी सवारी साधनलाई काठमाडौँ फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले राससलाई जानकारी दिए । उनका अनुसार सडकमा पहिरो खसेपछि यात्रुहरूलाई सुरक्षाका लागि सडक खण्डमा यात्रा नगर्न ट्राफिक प्रहरीले ‘माइकिङ’ गर्दै सूचना दिएको छ । उनले आवश्यक सहयोग र वैकल्पिक मार्ग प्रयोग गर्न चालक तथा यात्रुहरूलाई अनुरोध समेत गरेका छन् ।
