SHARE
अर्थ संवाद · आइबार​ १९ असो २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

दशैंको टीका लगाउने र आशीर्वाद लिनेक्रम आज पनि जारी

काठमाडौं । आश्विनशुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप दशैंको टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम जारी रहेको छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा नै उल्लेख गरिएको छ । पहिलो दिन मान्यजनकहाँ जान नपाएकाहरु पूर्णिमाका दिनसम्म मान्यजन कहाँ पुगेर टिका र आशीर्वाद लिने गर्दछन् ।