SHARE
अर्थ संवाद · मङगलबार ११ कात्िक २०८३ ०१:२६ PM · 1 मिनेट पढाइ

जापानमा तामाङ समाजको आयोजनामा सोनाम ल्होछार–२०२७ मनाइँदै, मिति सार्वजनिक

टोकियो, जापान। नेपाल तामाङ समाज जापानले तामाङ समुदायको प्रमुख सांस्कृतिक पर्व सोनाम ल्होछार–२०२७ विभिन्न क्षेत्रीय समितिमार्फत जापानका विभिन्न सहरमा मनाउने भएको छ।  समाजले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार मञ्जुश्री संवत् २८६३ अर्थात् भेडा वर्ग (ल्हो) को अवसरमा जापानका विभिन्न क्षेत्रमा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष गिर बहादुर घिसिङले बताउनु भयो ।  कार्यक्रमअन्तर्गत गुनमा, नागोया, टोकियो, ओकिनावा, ओसाका, फुकुओका र चिबा क्षेत्रमा कार्यक्रम तय गरिएको छ। सेन्दाई क्षेत्रीय समितिको कार्यक्रम भने पछि सार्वजनिक गरिने जनाइएको छ। कार्यक्रम तालिकाअनुसार गुनमामा जनवरी ३१, नागोयामा फेब्रुअरी ६, टोकियोमा फेब्रुअरी ७, ओकिनावामा फेब्रुअरी ८, ओसाकामा फेब्रुअरी १४, फुकुओकामा फेब्रुअरी १९ र चिबामा फेब्रुअरी २७ मा कार्यक्रम आयोजना गरिने समाजका अध्यक्ष घिसिङले बताउनु भयो । । सोनाम ल्होछार तामाङ समुदायको नयाँ वर्षका रूपमा मनाइने महत्वपूर्ण पर्व हो। यस अवसरमा परम्परागत संस्कृति, भेषभूषा, भाषा, मौलिक गीत–संगीत र नृत्यको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ। समाजले नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार तथा जापानमा रहेका स्थानीय कलाकारहरूको सहभागितामा तामाङ मौलिक संस्कृति झल्कने प्रस्तुति रहने जनाएको छ। जापानमा रहेका नेपाली तथा तामाङ समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।