रास्वपाको केन्द्रीय कार्यालय खाली गर्न घरबेटीको ३ महिने ‘अल्टिमेटम’
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई तीन महिनाभित्र केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन घरबेटीले आग्रह गरेका छन् । लामो समयसम्मको भाडा नपाएको र सुरक्षाको कारणले घर छोड्न आग्रह गरेको घरधनी भरतमणि देवकोटाले बताए । देवकोटाले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार रास्वपाले १० महिनादेखि घरभाडा तिरेको छैन । देवकोटाका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा सहमति बनेको थियो । रास्वपा अनुशासन आयोगका तत्कालीन अध्यक्ष समेत रहेका देवकोटा सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा विज्ञ सल्लाहकार नियुक्त भएका थिए ।
