उपत्यका छाड्ने यात्रुको चाप अहिलेदेखि नै बढ्न थाल्यो, भाडा वृद्धि नहुने
काठमाडौँ । चाडपर्व नजिकिँदै जाँदा उपत्यका बाहिरिने यात्रुको चाप अहिलेदेखि नै बढ्न थालेको छ । गत वर्षहरूमा घटस्थापनादेखि मात्रै उपत्यकाबाट बाहिरिने यात्रुको चाप हुने गरेकामा यस वर्ष भने घटस्थापनाभन्दा अघिदेखि नै यात्रुहरू गन्तव्यतर्फ प्रस्थान गर्न थालेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो तीन दिनमै करिब चार लाख यात्रुले उपत्यका छाडेको जानकारी दिए । यात्रुको चाप बढेसँगै सेवाप्रदायक व्यवसायी पूर्णरूपमा तयार रहेको उनले बताए। त्यस्तै महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले अहिलेको विषम परिस्थिति सम्झँदै पनि भाडा वृद्धि नगरी सेवा प्रवाहमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार अग्रिम टिकट प्रणालीभन्दा पनि सवारी साधनको उपलब्धताका आधारमा टिकट काटिने व्यवस्था मिलाइएको छ ।
