SHARE
Samata Press · मङगलबार २ भौ २०८३ ११:०८ PM · 1 मिनेट पढाइ

दलितसँग क्षमायाचना र प्याकेज कार्यक्रम घोषणाको प्रश्न

सार्वजनिक लेखा समितिमा सांसद खगेन्द्र सुनारले ‘प्रहरी नेतृत्व र गृहसचिवमाथि उठेका प्रश्नको जवाफ आउनुपर्ने, गम्भीर प्रश्न उठेपछि उनीहरूले बर्दी खोलेर वा राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउनुपर्ने’ भन्ने अनुसन्धानको सर्वमान्य सिद्धान्तको कुरा उठान गर्दै गर्दा आईजीपी दानबहादुर कार्कीले सत्तापक्षका सांसदको सामान्य मर्यादासमेत नदिई ‘प्रहरीलाई घिसार्छु भन्नेहरूले पनि’ भन्दै सांसद सुनारलक्षित कडा टिप्पणी गरे।  ‘पाषाणयुगीन’ मानसिकता बोकेका मानिसहरूबाट शासित हुँदैछौँ कि भन्ने चिन्ता गरिराखेकै बीचमा बडा दूधले नुहाएको कुरा सुनिन्छ’ भन्दै आईजीपी कार्कीले दादागिरी शैलीमा बायाँ कुम हल्लाउँदै भने, ‘यो बर्दी देखेर यिनले मात्रै खाएछन्, तलकोले केही पाएनछन् भन्ने हो भने यो हामीले किनेका हौँ।’  सांसद, विशेषतः खगेन्द्रले ‘हुर्मतै लिने किसिमले’ प्रश्न सोधेको भन्दै उनले ‘सभ्यताको हिसाबले र संसदीय हिसाबले पनि त्यति मजा नलागेको’ उल्लेख गरे। ‘आफू दूधले नुहाएको मान्छेको छेउमा बसियो कि जस्तो लाग्यो’ जस्ता शब्दावली प्रयोग गर्दै कार्कीले ‘क-कसलाई के मुद्दा चलाउनुपर्ने हो, हामीलाई थाहा छ’ भनेर धम्कीयुक्त भाषा बोले। प्रहरी नायव उपरीक्षक (डिएसपी) ले कमान्ड गर्ने सर्लाहीस्थित बरहथवा इलाका प्रहरी कार्यालयलाई तीन पटकसम्म ‘बन्दुके चौकी’ भनेका उनले इन्स्पेक्टरले कमान्ड गर्ने धेरै इप्रकालाई गाडी दिए तापनि उक्त इप्रकालाई गाडी नियतवश नै नदिएको देखिन्छ, मात्र त्यहाँ दलित इन्चार्ज भएकोले हुनुपर्छ सायद।  सत्तापक्षकै सांसद खगेन्द्र सुनार र रिमा विश्वकर्माहरूले सदनबाट तथा अभियन्ता दीपा नेपालीलगायतले सडकबाट दलितमाथिको विभेद अन्त्य र सुशासन तथा भ्रष्टाचारविरुद्धको बिगुल फुकिरहेको परिस्थितिमा दलित समुदायबाट निर्वाचित सांसद र सम्मानित सार्वजनिक लेखा समितिका सदस्यलाई दिनुपर्ने कुनै पनि मर्यादा नदिई, सभापतिलाई समेत ‘माननीय’ शब्दसमेत नभनेर ‘३० लाखको पनि एकचोटी बोलाइदिनु न’ भन्दै ठाडै चुनौती दिएका छन्।