SHARE
Samata Press · आइबार​ ३१ साउन २०८३ ०५:२१ PM · 1 मिनेट पढाइ

अवसरवादबाट माथि उठ्नुपर्ने कम्युनिस्ट आन्दोलन

राजनीतिक दलको वास्तविक शक्ति उसले जितेका निर्वाचन, सरकारमा बिताएको समय वा सङ्गठनको आकारले मात्र मापन हुँदैन । अन्ततः उसको वास्तविक उचाइ जनताले उसमाथि गरेको विश्वासले निर्धारण गर्छ । जनविश्वास बलियो भएको राजनीतिक दल प्रतिपक्षमा रहेर पनि प्रभावशाली हुन्छ, तर जनविश्वास गुमाएको दल सत्तामा रहेर पनि कमजोर देखिन्छ । त्यसैले कुनै पनि राजनीतिक आन्दोलनका लागि जनभरोसा नै सबैभन्दा ठुलो राजनीतिक पुँजी हो । नेपालको कम्युनिस्ट आन्दोलन आज यही जनविश्वासको कसीमा उभिएको छ । सात दशकभन्दा लामो सङ्घर्ष, त्याग र बलिदानबाट निर्माण भएको आन्दोलन आज पनि देशको सबैभन्दा ठुलो राजनीतिक धारमध्ये एक हो । तर इतिहासका उपलब्धि मात्र भविष्यका लागि पर्याप्त हुँदैनन् । हरेक पुस्ताले आफ्नो राजनीतिक वैधता आफ्नै काम, व्यवहार र जनउत्तरदायित्वबाट पुनः स्थापित गर्नुपर्छ ।