SHARE
Samata Press · शनिबार ३० साउन २०८३ ०८:४६ PM · 1 मिनेट पढाइ

डीडानको अध्यक्षमा कृष्ण गहजराज निर्वाचित, सात प्रदेशमा तोकिए फोकल पर्सन

काठमाडौँ। दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपाल (डीडान)को अध्यक्षमा कृष्ण गहतराज (कृष्णबहादुर सुनार) सर्वसम्मत निर्वाचित भएका छन्।  शनिबार काठमाडौँमा भएको संघको चौँथो साधारणसभाले गहतराजको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो। आगामी दुई वर्षका लागि निर्वाचित नौ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता चिजामाया विश्वकर्मा, महासचिव बीरमान विक र कोषाध्यक्षमा सीमा नेपाली चयन भएका छन्।  संघको सदस्यहरूमा किरण पासवान, सुस्मिता विक, सुनिता वादी, सुस्मिता विक र बाबुलाल विक चयन भएका छन्।  विभिन्न प्रकारका अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व गराई भौगोलिक आधारमा समेत समावेशी हुने गरी साधारणसभाले कार्यसमिति चयन भएको नवनिर्वाचित अध्यक्ष गहतराजले बताए। 'अपांगता भएका, त्यसमाथि दलित समुदायका व्यक्तिहरू दोहोरो-तेहोरो विभेद र पीडा भोगिरहेका छन्। अपाङ्गता अधिकारको मुलधारको आन्दोलनमा उनीहरूको प्रतिनिधित्व छैन, उनीहरू पछि छुटेका छन्। त्यसकारण दलित समुदायका अपाङ्गता भएका व्यक्तिहरूलाई संगठित गर्ने, सशक्तिकरण र विकास गर्ने हाम्रो संघको उद्देश्य हो, हामी त्यही अभियानलाई अगाडि बढाउँछौँ,' अध्यक्ष गहतराजले भने।  साधारणसभाले सातै प्रदेशमा फोकल पर्सनहरू पनि तोकेको छ। जसअनुसार कोशीमा उमेश परियार र सीता बराइली, मधेशमा हिरादेवी दास र रमणकुमार दास, बागमतीमा मनमाया विक र सिर्जना सेञ्चुरी, गण्डकीमा बिशाल विक र संगीता विक, लुम्बिनीमा सीता दर्नाल र सुस्मा विक, कर्णालीमा विकास टमट्टा र सुदुरपश्चिममा लक्ष्मण विक र राधिका भुल फोकल पर्सन र सहायक फोकल पर्सन तोकिएका छन्।  त्यस्तै, साधारण सभाले एल्बिनो उपसमितिको संयोजकमा रामबहादुर बिक र उपसंयोजकमा संगीता रसाइलीलाई चयन गरेको छ।  साधारणसभाले संघको गत आर्थिक वर्षको सांगठनिक र आर्थिक प्रतिवेदनहरू पारित गरेको छ भने आगामी वर्षको कार्ययोजना समेत तय गरेको छ।